बझाङ — बाजुरामा घरमै आइसोलेसनमा बस्न भनेर पठाइएका संक्रमितहरू समुदायमा निस्फिक्री घुम्न थालेका छन् । उनीहरू विवाह समारोह, रोपाइँ तथा स्थानीय स्तरमा हुने सामूहिक गतिविधिमा सहभागी हुन थालेपछि संक्रमण समुदायस्तरमा फैलिने भन्दै स्थानीय त्रसित भएका छन् ।

बुढीगंगा नगरपालिका–१ ले सोमबार गरेको वडा भेलामा केही कोरोना संक्रमित व्यक्ति पनि सहभागी थिए । स्थानीय भुवन उपाध्यायका अनुसार संक्रमण पुष्टि भएको केही दिनपछि उनीहरूलाई घरैमा आइसोलेसनमा बस्न भनेर परीक्षण नगरी पठाइएको थियो तर उनीहरू भेलामा सहभागी भए । ‘संक्रमित हो भनेर चिन्नेले दूरी कायम गरे, नचिन्नेले नजिकै बसेर गफगाफ गरे । संक्रमितहरू पनि आफूलाई केही नभएझैं अरूलाई छोएर, टाँस्सिएरै कुरा गरिरहेका थिए,’ उनले भने ।

जिल्लाका अन्य स्थानीय तहमा पनि संक्रमितहरू समुदायमा यसैगरी फुक्काफाल भएर घुलमिल हुन थालेका छन् । आफ्नो गाउँका केही संक्रमित विवाह कार्यक्रममा पनि सहभागी भएको बताउँदै बडीमालिका नगरपालिका–५ का बिर्ख साउदले भने, ‘घर आएको भोलिपल्टै विवाहमा आएर अरूले जस्तै रमाइलो गरे । किन यस्तो गरेको, जोखिम नबढाउनुस् भन्दा उल्टै हपार्छन् । यस्ता गतिविधिले सबैलाई सर्ने डर भयो ।’

बुढीगंगा नगरपालिकाका मात्रै एक सय जनाभन्दा बढीलाई क्वारेन्टाइनबाट घर पठाइसकेपछि संक्रमण पुष्टि भएको थियो । ‘घर पठाएको हप्ता दिनपछि पोजिटिभ देखियो, त्यतिबेलासम्म उनीहरू गाउँमा गएर सबैसँग घुलमिल भइसकेका थिए,’ नगरपालिकाको स्वास्थ्य शाखाका उपसंयोजक हस्त खडायतले भने, ‘अब फर्काएर आइसोलेसनमा ल्याउने कि के गर्ने भनेर छलफल गरिरहेका छौं ।’ नगरपालिकामा संक्रमण भएका २ सय २३ जनामध्ये कति आइसोलेसनमा छन् र कति घर पठाइएका छन् भन्ने तथ्यांक नभए पनि १ सय ३० जनाभन्दा बढी घर गइसकेको हुन सक्ने उनले बताए । कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।