प्रधानसेनापतिको आदेश नमान्दा सहायक रथी र महासेनानी बर्खास्त

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले दिएको आदेश उल्लंघन गरेको कसुरमा २ जना उच्च सैनिक अधिकारी सेवाबाट बर्खास्त भएका छन् । सैनिक अदालतले बुधबार सैनिक मुख्यालयमा कार्यरत सहायक रथी सुरेन्द्रसिंह रावल र पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको हो ।

बर्खास्तमा परेका २७ बेसिकका रावल केही समयअघि मात्रै अमेरिकाबाट वार कलेजको अध्ययन पूरा गरी फर्किएका हुन् भने महासेनानी रावल वार कलेजका लागि मनोनयनमा परेका अधिकृत हुन् । दुवै जना बढुवाको लाइनमा थिए । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जनामाथि माथिल्लो तहबाट भएका आदेश पालना नगरेको, सैनिक अनुशासन उल्लंघन गरेको तथा पदीय ओहोदाअनुसार जिम्मेवारी निर्वाह नगरेको कसुरमा दोषी ठहर गर्दै बर्खास्त गरिएको बताए ।

‘माथिल्लो कमान्डरले लिखित रूपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञा गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीत काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी र आचरण नदेखाएको कसुरमा दुवै अधिकारीलाई सैनिक अदालतबाट दोषी ठहर गर्दै बर्खास्त गरिएको हो,’ प्रवक्ता पाण्डेले भने । सैनिक अदालतबाट दोषी ठहर भएकाले फैसलाविरुद्ध ‘सिभिल कोर्ट’ मा पुनरावेदन गर्न पाउनेछन् ।

किन बर्खास्त भए ?
२०७५ भदौ २४ मा प्रधानसेनापति नियुक्त भएको केही साताभित्रै पूर्णचन्द्र थापाले सैनिक अनुशासन पालना र शून्य सहनशीलता कायम गर्न कठोर हुने भन्दै अनुशासनविपरीतका गतिविधि नगर्न मातहत अधिकृत, पदिक र अन्य दर्जालाई चेतावनी दिए । जिम्मेवारी सम्हालेको केही महिनाभित्रै सेनापतिको हैसियतमा पहिलोपटक पत्रकार सम्मेलन गरेर कमीकमजोरी औंल्याइदिन र सुधारका लागि सहयोग गर्न सार्वजनिक रूपमै आग्रह गरे ।
सैनिक स्रोतका अनुसार पत्रकार सम्मेलनको केही साताभित्रै नीति निर्देशनालयका निर्देशक सहायक रथी सुरेन्द्रसिंह रावल र सहनिर्देशक अनिल खड्काले ‘हायर कमान्ड कोर्स’ को पाठ्यक्रम परिवर्तन गर्नुपर्ने प्रस्ताव प्रधानसेनापतिसमक्ष राखेका थिए । उनले आफ्नै उच्च अधिकारीहरुबाट आएका सुझाव पीएसओज बैठकमा पेस गर्न निर्देशन दिए । तर सेनापति थापाको आदेशविपरीत दुवै अधिकृतले पाठ्यक्रम परिवर्तनसम्बन्धी प्रस्ताव आफूखुसी अघि बढाए । त्यसको जानकारी केही महिनापछि मात्रै सेनापति थापाले पाएका थिए । त्यसपछि दुवै अधिकारीमाथि आन्तरिक छानबिन सुरु भएको थियो । तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाले महासेनानीबाट सहायक रथी बढुवा हुन अनिवार्य कोर्सका रूपमा हायर कमान्ड कोर्सको सुरुवात गरेका थिए ।

‘हायर कमान्ड कोर्सको पाठ्यक्रम परिवर्तन गर्ने प्रस्ताव दुवै जनाले पेस गरेका र यसलाई पीएसओज बैठकबाट सम्बोधन गर्ने सेनापतिको निर्देशन उल्लंघन गरेको देखियो,’ स्रोत भन्छ, ‘त्यसको केही महिनापछि मात्रै यसबारे जानकारी भयो र आन्तरिक अनुसन्धान अघि बढाइएको थियो ।’ बर्खास्तमा परेका दुवै जना अधिकृतमाथि करिब डेढ वर्ष लामो अनुसन्धान भएको उच्च सैनिक स्रोत बताउँछ ।

‘कठोर’ बन्दै सेनापति
प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल अब १४ महिनाजति छ । २०७८ भदौमा उनले अनिवार्य अवकाश पाउनेछन् । तर कार्यकाल सुरु गरेयता थापाले आचरणविपरीत गतिविधिमा संलग्न उच्च सैनिक अधिकारीहरुलाई बर्खास्तदेखि सचेत गराउनेसम्मका निर्णय गराएका छन् । सेनामा देखिएको आर्थिक अनियमितताको जालो, नक्कली प्रमाणपत्र पेस गरेर जागिर खानेदेखि सिपाहीको रासन घोटाला तथा भर्नामा अनियमितता गर्नेसम्म उनको निसानामा परेका छन् ।

सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाल गएको जेठ ८ गते आर्थिक अनियमितता गरेको अभियोगमा पक्राउ परेका थिए । राणा र सिलवाल वीरेन्द्र शान्ति तालिम केन्द्र काभ्रेको पाँचखालमा रहँदा २ वर्षअघि आर्थिक अनियमितता गरेको कसुरमा छानबिनमा तानिएका थिए । उनीहरुसँगै १२ जना अधिकृत र एक जना सुवेदारलाई पनि बयान लिइएको थियो । -कान्तिपुरबाट

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...