काठमाडौँ — सगरमाथा आधार शिविर र वरपरका क्षेत्रमा निःशुल्क वाइफाई राखिने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई जडान गर्न ठेकेदार कम्पनी छानेको छ ।

७ करोड रुपैयाँ खर्चेर ८ महिनाभित्र इन्टरनेट जोड्ने गरी ठेकेदार कम्पनी छानिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणले इन्टरनेट जडानको ठेक्का एभरेस्ट लिंक प्रालिलाई दिने निर्णय गरेको हो । प्राधिकरणले यो कम्पनीसँग भ्याटबाहेक ६ करोड ९९ लाख ९ हजार रुपैयाँको सम्झौता गर्नेछ ।

सगरमाथा आधार शिविसहित लोबुचे, लुमिया, मोञ्जो, नाम्चे बजार, फाख्दिङ, फेरिचे, तेङ्बोचेमा इन्टरनेट जडान हुनेछ । सगरमाथा आधार शिविरमा वायरलेस प्रविधिको इन्टरनेट र अन्य क्षेत्रमा अप्टिकल फाइबरमार्फत इन्टरनेट पुर्‍याइने प्रवक्ता अर्यालले बताए । प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा भएको रकम प्रयोग गरी सगरमाथा आधार शिविरमा इन्टरनेट विस्तारको काम थालेको हो । यही कोषको रकम प्रयोग गरी प्राधिकरणले देशैभरका ग्रामीण क्षेत्रमा इन्टरनेट जडान गर्न १८ वटा प्याकेजमा काम गरिरहेको छ । त्यसमध्ये हालसम्म १६ वटा प्याकेजको काम जिम्मा दिइसकेको छ ।

ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी सञ्चालित परियोजनाको प्रगति सुस्त रहेको भन्दै संसद्को विकास तथा प्रविधि समितिले केही साताअघि प्राधिकरणलाई काममा तीव्रता दिन निर्देशनसमेत दिएको थियो । कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।