पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहत स्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन् । कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ ।

लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्थासमेत देखिएको छ ।

“असहज परिस्थितिमा सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत गरेका हौँ”, कँडेलले भने । उनकी पत्नी निर्मलाले तीन महिनाको छ लाख र व्यवसाय पुनःसञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत दिने बताए ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले विषम परिस्थितिमा पर्यटन व्यवसायीको समस्या बुझेर कँडेल दम्पतीले गरे तीन महिनाको भाडा र थप भाडामा ५० प्रतिशत छुट निकै सकारात्मक भएको भन्दै अन्य घरधनीले पनि अनुशरण गर्नुपर्ने बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।