काठमाडौं । केही समय अगाडीको मात्र कुरो हो । विश्वकै शक्तिशाली बन्न लागेको छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि जिनपिङका केही तस्बीरहरु नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ निक्कै भाइरल बन्यो ।
सि जिनपिङको ती तस्बीहरु राष्ट्रपति हो भनेर पत्याउनै सकिने थिएनन् । सामान्य मानिसहरु जस्तै देखिने, सामान्य नागरिकहरुसँग बसेर कुराकानी गरिरहेका अवस्थाका थिए । तस्बीरमा राष्ट्रपति सि कुरा सुनिरहेका थिए, सँगै भेला भएका नागरिकहरु कोही उपरखुट्टी लगाएर त कोही औंला ठहराएर आफ्ना कुरा भनिरहेको देख्न सकिन्थ्यो ।
तिनै तस्बीहरु सेयर गर्दै नेपालमा पनि उच्च पदमा पुगेका नेताहरु सामान्य बन्दा पनि हुनेरहेछ त भनेर व्यंग्य गरिएको पाइएको थियो ।
अहिले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ठ्याक्कै सि को लाइनमा उभिएको पाइएको छ ।
अरु बेला सामान्यतयः अलिक तडकफडक देखिने प्रचण्डको स्वभाव फेरिएको छ । पछिल्लो पटक उनी सामान्य नागरिक जस्तै देखिन पुगेका छन् भने नागरिकका गुनासाहरुलाई बढी मात्रा सुनेको पाइएको छ ।
हालै जारी अविरल वर्षाले देशैभर ठूलो धनजनको क्षति पुर्याएको छ । वर्षासँगैको बाढी र पहिरोले चितवनमा पनि क्षति नपुर्याउने कुरै रहेन । प्रचण्ड बाढी पहिरोको अवलोकन गर्न गृह जिल्ला चितवन हानिएका छन् ।
त्यस क्रममा भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन समेत दिए ।
फरक के रह्यो भने, अवलोकनमा प्रचण्ड अरु सामान्य नागरिक जस्तै देखिए । हिलो फोहोरको कुनै हेक्का राखेनन्, न पानीमा उनले अरुलाई छाता उडाउन नै लगाए ।
प्रचण्डले त्यहाँ सामान्य नागरिकका गुनासा निक्कै ध्यान दिएर सुनेका थिए । त्यतिबेला बाढी पहिरो पीडितहरुलाई उनले कुर्सीमा राखे भने आफू भने उभिएरै अरुका गुनासा निक्कै चासोका साथ सुनेका थिए ।
प्रचण्डको पछिल्लो शैलीलाई सि जिनपिङको रुपमा सामाजिक सञ्जालमा अर्थ्याइएको पाइएको छ । कतिपयले सामान्य नागरिक जस्तै आफू पनि भएको र सामान्य नागरिक जस्तै भएर नेताहरु पनि जिवन जिउनुपर्ने सन्देश दिन प्रचण्डले चाहेको बताइरहेका छन् ।