लोकसेवामा छोरीलाई पास गराउन आफैं उत्तरपुस्तिकामा लेखिदिने यी हुन् अधिकृत शाही (तस्बीरसहित)

यो माथिको तस्बीरमा देखिने व्यक्ति लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाही हुन् ।

यिनै शाहीले आफ्नी छोरीलाई लोकसेवा परीक्षामा पास गराउन आफैं उत्तरपुस्तिकामा लेखिदिएको रहस्य खुलेको छ । ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई पास गराउन उनले छोरीको उत्तरपुस्तिकामा आफैं थपघट गरेका हुन् ।

शाहीले आफ्नी छोरीलाई पास गराउन निक्कै चनाखीपूर्ण तरिका अपनाएको पाइएको छ । अधिकृत शाहीले (अब्जेक्टिभ) वस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेको अध्ययनबाट खुलेको छ । बुवाको निर्देशन अनुसार उनकी छोरीले पनि त्यसै गरेकी थिइन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याउँदै ५० वटा प्रश्नमा ५० वटैको सही उत्तर मिलाईदिएका थिए ।

उनको प्राप्ताङ्क अस्वाभाविक लागेपछि आयोगले छानबिन समिति बनाएर पुनः चेक गर्दा यस्तो रहस्य पत्ता लागेको थियो । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरिसकेको आयोगले जनाएको छ ।

यसरी बदमासी गर्ने शाहीलाई भने सामान्य कारबाही मात्र गर्ने तयारी छ । उनलाई हाल दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको पाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्का गर्ने तयारी छ । उनकी छोरीको भने उत्तर पुस्तिका भने रद्द गरिएको छ ।

सामाजिक सञ्जालहरुमा भने उनलाई भविष्यमा नै सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्नुपर्ने माग उठिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।