वडाअध्यक्ष पक्राउपछि मेयरले भने- ‘झेली गरेको गलत लिखत र क्रियाकलापमा फसाइयो’

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु श्रेष्ठले महानगरभित्रका वडाअध्यक्षलाई गलत लिखतको आधारमा फसाइएको बताएका छन् ।

उनले इमान्दारितापूर्वक वडाबासीको सेवामा समर्पित जनप्रतिनिधिर्ला झेली गरेको गलत लिखित र क्रियाकलापमा मुछेर हिरासतमा राखेको भन्दै त्यस्तो कार्यले जनप्रतिनिधिहरु हतोत्साहित भएको समेत उल्लेख गरेका छन् ।

‘वडावासीको सेवामा इमान्दारीपूवर्क समर्पित जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नता नभई वडा बाहिरका अन्य व्यक्तिहरुले झेली गरेको गलत लिखत र क्रियाकलापमा वडाअध्यक्षलाई समेत मुछी हिरासतमा लिएबाट जनप्रतिनिधिहरु हतोत्साहित भएका छन् ।’ नगरप्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेवाग्राहीले पेश गरेको निवेदनको आधारमा कानुन बमोजिम गरिदिएको नाता प्रमाणितको विषयमा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनलाई नेपाल प्रहरी अन्तर्गतको मानव बेचविखन अनुसन्धान व्यूरोले हिरासतमा लिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

यो घटनाले जनप्रतिनिधिहरुमा काम गर्न त्रासको वातावरण सिर्जना भएको उल्लेख गर्दै यथाशीघ्र सत्यतथ्य छानविन गरी जनप्रतिनिधिहरुलाई जनताको सेवामा समर्पित हुने कार्यबाट वंञ्चित नगराउन पनि उनले आग्रह गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।