कात्तिक २७ । देशब्यापी चुनावी अभियानमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहिवार पोखरा आउने भएपछि यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
सुरक्षा निकायले संकटकालको झल्को दिने गरी सुरक्षा जाच गरेको छ भने नेकपा–माओवादीसम्बद्ध कार्यकर्ताहरुलाई खोजीखोजी पक्राउ गर्न थालिएको छ ।
मंगलबार दुई माओवादी कार्यकर्ता पक्राउ गरेको कास्की प्रहरीले बुधबार लेखनाथबाट पनि थप माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
माओवादी बहिष्कारको समाचार प्रकाशन गर्ने अनलाईनमाथि पनि प्रहरीले निगरानी बढाएको छ । सुरक्षा निकायले बुधबार सुचना केन्द्र डट कम सम्बद्ध कमल बुढा ईमान्दारको कोठामा बुधबार छापा समेत मारेको छ ।
निर्वाचन अगाडिसम्म माओवादी आबद्ध क्रान्तिकारी पत्रकार महासंघका सदस्यहरुलाई पनि पक्राउ गरिने तयारी भई रहेको स्रोतले जनाएको छ ।
एमाओवादी कास्कीले गर्ने जनसभालाई सम्बोधन गर्न प्रचण्ड पोखरा आउन लागेका हुन । कास्कीमा हुने जनसभामा करिव ५ हजारभन्दा बढि जनता सहभागि हुने तयारी भैरहेको एमाओवादी कास्कीका संयोजक तथा केन्द्रिय सदस्य झलकपाणि तिवारीले जानकारी दिए ।
कास्कीका ४ वटै निर्वाचन क्षेत्रको केन्द्रित जनसभा हुन लागेको हो । जनसभा अघि पोखरा बजारका विभिन्न स्थानबाट ¥याली निस्कने एमाओवादी कास्कीले जनाएको छ ।
पोखराको चिप्लेढुङ्गामा सबै ¥याली तथा जुलुस जम्मा भई अमरसिंह चोकमा पुगेर जनसभामा परिणत हुने छ । प्रचण्डले पोखरासंगै पर्वत, मुस्ताङ, स्याङ्जा र लमजुङमा हुने चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।