एक दुई दिनभित्रै सबै सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने भएका हुन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले अब सार्वजनिक सवारी चलाउन तयारी थालेका हुन् ।
उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २÷३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताएका छन् ।
सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा सुरु गर्न सकेका छैनन् ।







