काठमाडौं । ललितपुरको थसिखेलमा आमालाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका सदस्यमा पनि कोरोना पुष्टि भएको छ ।
थसिखेलका ४४ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको हो । यसअघि साउन ६ गते उनको आमालाई कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा छोरालाई पनि कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएको जनाएको थियो । काठमाडौं उपत्यकामा शनिबार संक्रमण पुष्टि भएका ६ जनामध्ये एक जना मोबाइल कम्पनीमा काम गर्ने व्यक्ति रहेको खुल्न आएको छ ।
बालुवाटारका ४७ वर्षका पुरुष टेकुस्थित एक मोबाइल कम्पनीमा कार्यरतमा कोरोना पुष्टि भएको हो । उनलाई खोकी लागेपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तारकेश्वर नगरपालिका पुरानो गुजेश्वरीका २५ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी १६ दिन अगाडि कुवेतबाट फर्किएका थिए । उनलाई ज्वरो र खोकीको लक्षण देखिएको थियो ।
अर्का एक जना १६ दिनअघि सर्लाहीबाट फर्किएका २६ वर्षका पुरुष रहेका छन् । उनी पुतलीसडकस्थित एक प्लाई शपमा कार्यरत छन् । उनलाई खोकी र ज्वरोको लक्षण देखिएको छ ।
कपनका ६२ वर्षका पुरुषलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी हेल्पिङ ह्याण्ड हस्पिटलमा थाइरायडको शल्यक्रियाका लागि भर्ना भएका थिए ।
दक्षिणढोका जोरपाटीकी २२ वर्षकी महिलालाई पनि कोरोना पुष्टि भएको छ । उनी ९ महिनाको गर्भवती हुन् ।







