‘लुकीछिपी आएकाबाट फैलियो संक्रमण’



वीरगन्ज — गत असार ३१ मा वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा पर्साका दुई जना संक्रमित मात्र थिए । पालिकाहरूका क्वारेन्टाइन पनि खाली हुने क्रममा थिए । असार अन्त्यसँगै जिल्ला कोरोनामुक्त हुनेमा सरकारी अधिकारीहरू आशावादी थिए ।
तर, पछिल्ला १० दिनमा जिल्लामा उल्टै ८५ जना संक्रमित थपिएका छन् । सरकारले आफैं पैसा तिरेर पीसीआर परीक्षण गराउन सक्ने नियम ल्याएपछि पर्सामा संक्रमितको संख्या बढ्न थालेको हो । चार दिनयता वीरगन्जमा तीन संक्रमितको मृत्यु भइसकेको छ । कोरोना अस्पतालमा भर्ना भएका चार संक्रमित आईसीयूमा उपचाररत छन् । विभिन्न पेसा व्यवसायका व्यक्तिसँगै पाँच जना थुनुवा र वीरगन्जका दुई जना चिकित्सकसमेत संक्रमित भएका छन् । कुनै ट्राभल हिस्ट्री नभएका विभिन्न व्यक्तिमा संक्रमण देखिन थालेपछि वीरगन्जमा त्रास फैलिएको छ । वीरगन्जसँग सीमा जोडिएको भारतको रक्सौल आसपासका क्षेत्रमा पनि संक्रमण व्यापक छ ।

साउन ७ बाट सरकारले लकडाउन खोले पनि भारतसँगको तोकिएको नाकाबाहेक आवागमन बन्द नै राख्ने निर्णय गरेको थियो । तर, लुकीछिपी भारतीय कामदार भित्र्याएर यहाँका उद्योगले काममा लगाएको पाइएको छ । उनीहरूबाटै वीरगन्ज र आसपासका क्षेत्रमा संक्रमण फैलिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

‘तोकिएका नाकाबाट भित्रिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइएको थियो, उनीहरूबाट कोरोना फैलिएको हैन,’ उनले भने, ‘लुकीछिपी भित्रिएकाबाट फैलिएको दखिन्छ ।’ कान्तिपुरमा खबर छ ।