काठमाडौँ — टुटल र पठाओजस्ता राइड सेयरिङ कम्पनीहरूको पञ्जीकरण (दर्ता) गरी सञ्चालन गर्न सरकारले कानुन बनाउने भएको छ । कानुनमा यस्तो सेवासम्बन्धी व्यवस्था नभएको भन्दै पटकपटक सरकारी निकायको तारो बन्दै आएका राइड सेयरिङ कम्पनीलाई संघीय सवारी तथा यातायात व्यवस्था विधेयकमा अनुमति दिने प्रस्ताव गरिएको छ ।
टुटल र पठाओजस्ता सेवा प्रदायकलाई व्यवस्थित गर्ने गरी कानुन बनिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘संघीय सवारी तथा यातायात व्यवस्था व्यवस्थित गर्ने प्रावधान विधेयकमा राखेका छौं, उनले भने, ‘विधेयक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएको छ, संसद् चलेपछि त्यहाँ पुग्छ ।’ ऐन ल्याएर यस्ता सेवालाई व्यवस्थित गर्न खोजिएको उनले बताए ।
विधेयकमा टुटल, पठाओजस्ता सेवा सञ्चालनको अनुमति दिनुपर्ने र सवारी चलाउँदा सुरक्षाका उपाय अपनाउनुपर्नेजस्ता प्रावधान राखिएको छ । ‘सञ्चालन गर्ने अनुमति दिनुपर्छ भन्ने हो,’ उनले भने, ‘विस्तृत व्यवस्था ऐन बने पनि जारी हुने कार्यविधिमा राखिनेछ ।’
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले पनि राइड सेयरिङ सेवा दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने औंल्याएको छ । उपत्यकामा सञ्चालित टुटल र पठाओजस्ता राइड सेयरिङ सेवा दिने कम्पनी कम्पनी रजिस्ट्रार कार्यालय दर्ता भएर चलिरहेका छन् । कान्तिपुरमा खबर छ ।






