मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा पाँचतारे होटल स्थापना गर्ने घोषणा गरेको छ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष शेष घलेले दुईसय …डिलक्स’ कोठायुक्त होटल राजधानी, पोखरा, चितवन वा लुम्बिनीमा स्थापना गरिने जानकारी दिए।

रोजगारी सृजनाका साथै वैदेशिक मुद्रा आर्जन गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउन होटल उपयुक्त माध्यम भएको बताउँदै उनले जलविद्युत्, व्यावसायिक कृषिकर्म र पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्दै जाने बताए।

सङ्घले वैदेशिक रोजगारीमा खाडी मुलुक र मलेसिया गएका श्रमिकको मृत्यु, अङ्गभङ्ग वा अलपत्र परेकालाई आर्थिकरूपमा सघाउन राहत कोष स्थापना गरिएको र त्यसमा आफूले रु एक करोड प्रदान गरेको घोषणा गरे। …कोषमा थप रकम पनि सङ्कलन गरिनेछ’– एनआरएनएनमा आबद्ध एकलाख सदस्यबाट आवश्यक रकम जुटाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सङ्घले काठमाडौँमा कार्यालय स्थापना गर्न रु तीन करोड ६५ लाख सङ्कलन गरिसकेको छ। रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।