वीरगन्ज — नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु भएको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ६० हजार रुपैयाँसम्ममा खरिदबिक्री हुन थालेको छ । यसको कालोबजारीमा स्वास्थ्यकर्मीहरू नै संलग्न रहेको भेटिएको छ ।
कालोबजारियाहरूले यो इन्जेक्सनलाई भारतकै रक्सौलमा २४ हजार रुपैयाँसम्म र वारिपट्टि वीरगन्जमा ३३ देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।
एक संक्रमितका आफन्तले साउन पहिलो साता वीरगन्जमा उक्त इन्जेक्सन प्रतिभाइल ५० हजार रुपैयाँमा खरिद गरेका थिए । सिकिस्त संक्रमितलाई चिकित्सकले ६ भाइलसम्म रेमडेसिभिर इन्जेक्सन लगाउने गरेका छन् । अहिले वीरगन्जमा संक्रमितका आफन्तले ४० हजार रुपैयाँसम्ममा खरिद गरिरहेको उक्त इन्जेक्सन काठमाडौंमा ५० देखि ६० हजार रुपैयाँसम्ममा बेच्ने गरिएको छ । एम्बुलेन्स र भन्सारबाट छुटका मालवाहक सवारीमा रेमडेसिभिर राखेर काठमाडौं पठाउने गरिएको छ । सरकारले भारतबाट आयात खुला गरे पनि वीरगन्जमा रेमडेसिभिर सजिलै उपलब्ध हुन सकेको छैन ।
जानकारका अनुसार रेमडेसिभिरको कालोबजारीमा बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, वीरगन्जका ठूला औषधि व्यवसायी र केही व्यापारी पनि संलग्न छन् । ‘सिकिस्त कोरोना संक्रमितलाई रेमडेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘इन्जेक्सन चलाउन चाहनुहुन्छ भने सम्बन्धित मान्छेलाई भेट्नुहोला, ती मान्छेले उपलब्ध गराइदिन्छन् भन्छन् ।’
स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको ४० हजार रुपैयाँ पर्छ, तपाईंलाई हामीले केही कममै उपलब्ध गराउन सक्छौं भन्ने गरेको ती आफन्तले बताए ।
‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ?’ उनले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’ कान्तिपुरमा खबर छ ।








