वडा सदस्यमा पराजित पनि राष्ट्रियसभा सदस्य, हरुवाहरुको सभा बन्याे राष्ट्रियसभा

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सरकार तथा राजनीतिक दलहरुकै कारण हरुवाहरुको सभा बन्ने खतरा बनेको छ ।

दुई सदनात्मक संसदीय व्यवस्थामा माथिल्लो सदनलाई ‘परिपक्व’ र गरिमामय सदन मानिए पनि लगातार पराजितहरुलाई नियुक्त गर्ने क्रम रोकिएको छैन ।

यतिसम्म की गाउँपालिका सदस्यमा पराजित पनि राष्ट्रिय सभा सदस्य बनेका छन् । त्यसो त प्रतिनिधिसभामा पराजित वामदेव गौतम सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने पक्कापक्की भएको छ । उनलाई सिफारिस गर्न पार्टीले निर्णय गरिसकेको छ ।

यसअघि, गोरखाबाट प्रतिनिधिसभामा पराजित नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा सदस्य निर्वाचित भइसकेका छन् ।

सिंगबहादुर विश्वकर्मा अहिले राष्ट्रिय सभा सदस्य छन् । उनी सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–२ वडा सदस्यमा पराजित भएका थिए ।

भगवती न्यौपाने पनि राष्ट्रिय सभा सदस्य हुन् । तनहुँको भानु नगरपालिका प्रमुखमा पराजित भएकी थिइन् ।

विमला घिमिरे पनि राष्ट्रिय सभा सदस्य छिन् । उनी कपिलवस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजित भएकी थिइन् ।

यति मात्रै हैन, दाङ–३ (१) प्रदेशसभामा पराजित जगप्रसाद शर्मा, सप्तरी–४ बाट प्रतिनिधिसभामा पराजित मृगेन्द्रकुमार सिंह पनि राष्ट्रिय सभा सदस्य बनेर माननीय बनेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।