धेरैको निम्ती टाउको दुखाईको बिषय हो, पुट्ट निस्किएको पेट । यस्तो पेटले शरीर भद्दा र असुहाउँदिलो देखिन्छ। कुनै पनि लुगा लगाउँदा पेट लुकाउनै सास्ती हुन्छ । पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार रहेको छ । शरिरले कुनै किसिमको व्यायाम अथवा शारिरीक कष्ट पाएन, अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्ने गर्दछ । स्वास्थ तथा मिलेको शरीर सबैको चाहना हुन्छ । हेर्दा चिटिक्क परेको, फुर्तिलो शरीर अनि आफुलाई मनपरेको कपडा लगाउन पाउनु सबैको सपना हुन्छ । राम्रो तथा मिलेको जिउडालको लागी व्यायाम निकै आवश्यक हुन्छ ।
तर पनि जिम जाने चाहना सबैलाई नहुन सक्छ । तौल घटाउने चाहना हुँदाहुदै पनि समयको कमीका कारण कतिलाई जिम जान अथवा व्यायाम गर्न जान निकै कठिन हुन सक्छ । तौल घटाउन सजिलो भने पक्कै छैन, त्यसका लागि आफ्नो शरीरले कति क्यालोरी पाइरहेको छ र कति खपत भइरहेको छ भन्नेकुरा जान्नु एकदमै जरुरी हुन्छ । स्वास्थ्य तथा मिलेको ज्यानको लागी धेरै पैसा खर्चिनपर्छ भन्ने आवश्यक छैन । हामीले घरमै पनि आफ्नो शरीरलाई मिलेको बनाउन सक्छौँ । घरमै भएका सामाग्रीको प्रयोगबाट पनि हामीले लाभ उठाउन सक्छौँ । यस्तै हामीले घरमा सजिलै पाइने लसुनको मद्दतबाट पनि ज्यान तथा पेट घटाउन सक्छौँ ।
लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ लसुनमा पोषणतत्व ज्यादा हुनुका साथै यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ ।
लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरु समेत प्राप्त हुन्छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ भने यसलाई जोर्नीको दुखाई कम गर्ने औषधिको पनि प्रयोग गरिन्छ।
यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुँदै आएको लसुनमा औषधिय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन्। यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह समेत दिन्छन्