सैनिक घेरामा निर्वाचनको मतपत्र छपाई सुरु

असोज १९ । आसन्न संविधानसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्ने कार्य शनिबारदेखि सुरु भएको छ ।

नेपाली सेनाको घेराभित्र भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ कार्य सुरु गरिएको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिए । झाले भने, “मतपत्र छपाइका लागि केन्द्रले सम्पूर्ण तयारी गरिसकेको छ । हिजो शुक्रबारदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएको छ र अब बाहिरका कुनै पनि व्यक्तिलाई मतपत्र छपाइ अवधिभर केन्द्रमा प्रवेश निषेध गरिएको छ ।”

मतपत्र छपाइ सुरु भएपछि केन्द्रको बाहिरी घेरामा नेपाल प्रहरीका अधिकृतको नेतृत्वमा प्रहरी टोली र मतपत्र छपाइ हुने स्थानलगायतको भित्री घेरामा नेपाली सेनाको अधिकृतको नेतृत्वमा सेनाको टोली परिचालन गरिएको छ ।
केन्द्र अब २४ सै घण्टा सुरक्षाकर्मीको घेरामा छ । सुरक्षाको मुख्य नेतृत्व नेपाली सेनाले लिएको छ ।

मतपत्र छपाइ कार्य कात्तिक २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केन्द्रले कुल तीन करोड मतपत्र छपाइ गर्ने जानकारी दिँदै उहाँले सुरक्षाका लागि केन्द्रको वरिपरि र मतपत्र छपाइ हुने स्थानमा सिसी क्यामरा जडान गरिएको बताउनुभयो । मतपत्र छपाइका लागि केन्द्रले ३५० जना कर्मचारीलाई खटाएको छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।