बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको निधन भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको आज बिहान निधन भएको छ । दाङको घोराही उपमहानगरपालिका—१५ निवासी ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५ः२५ बजे निधन भएको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको भेरी अस्पतालको कोभिड आइसियूमा उपचारकै क्रममा निधन भएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।