मास्क नलगाउनेलाई दुई हजार रुपैयाँ जरिवाना

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ। मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने मुख्य मन्त्री अरविन्द्र केजरीवालले बताएका छन्।

मास्क अनिवार्य रुपमा लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो। प्रदेश सरकारले यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्‍याइएको उनले बताए।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

केन्द्रीय राजधानी रहेको नयाँ दिल्लीमा कोरोनाभाइरस महामारी फैलिँदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो। ‘दिल्लीमा पछिल्लो समयमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्यामा वृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,’ मुख्यमन्त्री केजरीवालले भने।

भीडभाड हुने वा गर्नुपर्ने सबै ठाउँ तथा गतिविधिलाई सकेसम्म न्यूनीकरण गर्न र भीडभाडमा जानै परे आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि उनले आग्रह गरेका छन्। धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिप्रति उनले बढी चिन्ता व्यक्त गरेका छन्।

कोरोना महामारीको अवस्थाबारे समीक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलीय बैठकपछि उनले थप कडाइ गर्न लागिएको जानकारी दिए। बैठकपछि पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउन संयुक्त रुपमा काम गर्न सबै पार्टी सहमत भएको पनि बताए। रासस