पछिल्लो १५ दिनभित्र मालिका विकास बैंक मङ्गलसेन शाखामा एक हजार दरका तीन नक्कली नोट फेला परेका छन् । बैंकका शाखा प्रबन्धक गणेश साउदले आधा महिनाको अवधिमा बैंकमा रकम जम्मा गर्न आएका ग्राहकबाट एक हजार दरका तीन नक्कली नोट फेला परेको जानकारी दिए ।
ख ४०, ६५७६९९, ख ५०, ७१३३८ र ग ४, ७३७०७८ नम्बरका तीन नक्कली नोट भेटिएका बैंकले जनाएको छ । एक लाख ९४ हजार, ९० हजार र २५ हजारको गड्डीमा ती नक्कली नोट भेटिएका हुन् । सबै नक्कली नोट व्यापारीबाट भेटिएको प्रबन्धक साउदले जानकारी दिए । नक्कली नोट भेटिने सबैसँग सोधपुछ गर्दा नक्कली नोट छ भनेर थाहा नपाएर नै बैंकमा जम्मा गर्न आएको उनीहरूले बताएको उनको भनाइ छ ।
दसैँको मुखमा बजारमा ग्राहकको भीडभाड बढी हुने भएकाले त्यसैको मौका छोपेर नक्कली नोटको कारोबार गर्ने गिरोहले नक्कली नोट व्यापारीकहाँ पुर्याएको हुन सक्ने साउदले बताए ।नक्कली नोट भेटिनेक्रम बढेपछि बैंकले थप सजगता अपनाएको उनले बताए । भेटिएका तीनै नोट नक्कली भएको बैंकले प्रमाणित गरिसकेको भए पनि थप प्रमाणित गर्न राष्ट्र बैंकमा पठाउने साउदले जानकारी दिए ।
झट्ट हेर्दा सक्कली नोट जस्तै देखिने नक्कली नोट छाम्दा र मेसिनले हेर्दा नक्कली भएको सहजै थाहा पाउन सकिने खालका छन् सक्कली नोटको बीच भागमा हुने तारमा नेपाल राष्ट्र बैंकको छोटो रूपमा अङ्ग्रेजीमा एनआरबी लेखिएको हुनुपर्नेमा नक्कली नोटमा भने उक्त कुरा लेखिएको छैन । मेसिनमा राखेर हेर्दा सक्कली नोटमा लेखिएका अङ्क सबै उज्यालो देखिने तर नक्कली नोटमा भने अँध्यारो देखिन्छ ।
समग्रमा सक्कली नोटभन्दा नक्कली नोट बढी उज्यालो देखिन्छ ।जनता बैंक मङ्गलसेन शाखाका प्रवन्धक एकेन्द्र भण्डारीले पनि केही पहिले बैंकमा १० रुपैयाँ देखि एक हजार रुपैयाँ सम्मका नोट नक्कली भेटिएको बताए । ग्रामीण भेगमा थुप्रै नक्कली नोट हुन सक्ने उनको भनाइ छ ।राष्ट्रिय वाणिज्य बैंक मङ्गलसेन शाखाका प्रबन्धक महेन्द्रप्रसाद तिमिल्सिनाले पनि केही दिन पहिले बैंकमा नक्कली नोट आएको बताए । नक्कली नोटको कारोबार गर्ने गिरोह दसैँ तिहारजस्ता चाडबाडको समयमा बढी सक्रिय हुने भएकाले रकम लेनदेन गर्दा निकै होस पुर्याउनुपर्ने उनको सुझाव छ । रासस