काठमाडौं । पछिल्लो पटक आन्तरिक कलह उत्कर्षमा पुगेको नेकपा भित्रको विवादले थप उचाई लिँदै नयाँ गन्तव्य र गम्भीर परिस्थिति सिर्जना गरेको छ । पछिल्ला क्रियाकलापले नेकपा अब फुटको संघारमा पुगेको आभाष दिन थालेको छ ।
बरिष्ठ नेता माधव कुमार नेपाल निकट मानिने पार्टी स्थायी कमिटी सदस्य तथा सांसद सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा शनिबार कार्यक्रमस्थलमै नाराबाजी गरिएको छ । बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त घटना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा पक्षबाट भएको इंकित गर्दै सुनियोजित भएको भन्दै वक्तव्य निकालेर विरोध गरेका छन् । पाण्डेविरुद्ध नाराबाजी हुनपूर्व उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको आलोचना गरिरहेका थिए ।
नेकपा भित्रको विवाद यसअघि सचिवालय तथा स्थायी कमिटी तहमा रहेको र आरोप प्रत्यारोप हुने गरेकोमा यो पटक औपचारिक रुपमा नै जिल्ला तहमा पुगेको छ भने एकै पार्टीका नेताविरुद्ध कालो झण्डा देखाउने र नाराबाजी गर्ने क्रियाकलाप पहिलो पटक हुन पुगेको छ ।
यता, राजनीतिक कार्यदिशाको समेत विवाद चर्कंदै गएका बेला शनिबार सुर्खेतमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) लेखिएको ब्यानरमा कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यमा प्रदेशस्तरीय भेला आयोजना गरेको हो । सिलवाल प्रधानमन्त्री ओलीको निकट मानिन्छन् । यसअघि पनि ओली पक्षधरले जबबको नारामा गुट भेला गर्दै आएको आरोप लाग्दै आएको छ । चितवनमा पाण्डेले पनि मदन भण्डारीको फाउण्डेशनको नाममा भेला गर्न नहुने जनाउँदै गर्दा उनको विरुद्ध हुलहुज्जतसहित नाराबाजी भएको थियो ।