सुनचाँदिकाे मुल्य बुधबार पनि घटेकाे छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो। आज छापावाला सुन ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुन तोला एक हजार ८०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।
यसैगरी चाँदीको मूल्य पनि बुधबार ओरालो लागेको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा गिरावट देखिएको छ। सोमबार यता निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार प्रति अउन्स एक हजार ८०४ टडलर बराबरमा कारोबार भइरहेको छ। सो बजारमा सोमबार यता सुन प्रति अउन्स ७१ डलरले घटिसकेको छ।
विश्वमै कोरोना भ्याक्सिनको आशासँगै शेयर बजारतर्फ लगानीकर्ताहरु आकर्षित भएका छन्। लगानीकर्ताहरू सुन बिक्री गरी शेयर बजारतर्फ लागेपछि बजारमा बिक्री चाप बढेकाले सुनको भाउमा गिरावट आएको बताइएको छ। सोहि कारण नेपाली सुन बजारमा पनि यसको प्रभाव परेको हो।