काठमाडौं । चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर चिनियाँ चन्द्रयान चाङ ई–५ पृथ्वीमा फर्किएको छ । नमुनाको अध्ययनबाट पृथ्वीको उपग्रहको सतह र उसको अतीतका बारेमा विभिन्न जानकारी हासिल हुने वैज्ञानिकहरुले दाबी गरेका छन् ।

अन्तरिक्षमा लगातार आफ्नो क्षमता वृद्धि गरिरहेको चीनको यो मिसनलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । पछिल्ला सात वर्षमा चीनको तीन वटा चन्द्र मिसन सफल भएका छन् । अमेरिकाको अपोलो र तत्कालीन सोभियत संघको लूना चन्द्रयानपछि पहिलोपल्ट चिनियाँ चन्द्रयानले चन्द्रमाको सतहको नमुना लिएर फर्किएको चीनको यान यो तेस्रो हो ।

गत नोभेम्बरको अन्त्यमा चीनले चाङ ई–५ चन्द्रयान चन्द्रमामा पठाएको थियो । उक्त यानले चन्द्रमाबाट कति नमुना संकलन गरेर ल्यायो भन्ने यकिन नखुलाइए पनि २ देखि ४ किलोसम्म हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । अपालो र लुना चन्द्रयानले चन्द्रमाको सतहको करिब ४ सय किलो नमुना संकलन गरेका थिए । चन्द्रमाबाट ल्याइएका नमुना धेरै पुराना भएको बताइएको छ । यी नमुना करिब तीन अर्ब वर्ष पुरानो हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । चिनियाँ चन्द्रयानले ल्याएको नमुना भने यसअघिका भन्दा केही फरक हुन सक्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।