असोज १३ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रमुख चार दललाई फेरि वार्ताका लागि आह्वान गरेको छ ।

मुलुकको गम्भीर स्थितिबारे सबै दलहरुले गम्भीरतापूर्वक आत्मसात गरेर राष्ट्रिय सहमति कायम गर्न र समस्या समाधान गर्न भन्दै ३३ दलीय मोर्चाले आइतबार विज्ञप्ति निकालेर वार्ताका लागि आग्रह गरेको हो । विद्यमान सङ्कट समाधान गर्दै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नका लागि नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको तर्फबाट ४ दलका नेताहरुसँग फेरि पनि वार्ताको लागि आह्वान गर्न चाहन्छ’ ३३ दलीय मोर्चाद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलका नेताहरु विदेशीको इशारामा निर्देशित भएकाले वार्ता भंग हुन पुगेको भन्दै फेरि एक पटक वार्ता गरेर समस्याको समाधान निस्कन्छ कि भनेर वार्ताका लागि अघि सरेको बताए ।

चार दलका शीर्ष नेताहरुले मोर्चाको ४ बुँदे प्रस्तावलाई अस्वीकार गरेर राष्ट्रिय सहमतिको संघारमा पुगेको मुलुकलाई उल्ट्याएर फेरि गम्भीर सङ्कटमा फसाउँदै गरेको मोर्चाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
३३ दलले निर्वाचनमा नेपाली सेना परिचालन गर्ने भनेर गरिएको निर्णयको पनि कडा विरोध गरेको छ ।

निर्वाचनजस्तो नितान्त आन्तरिक मामिलामा     बाह्य क्षेत्रबाट आक्रमण भएर राष्ट्रिय सार्वभौमसत्तामाथि गम्भीर सङ्कट पैदा भएको स्थितिमा प्रयोग गरिनुपर्ने नेपाली सेना परिचालन गर्न खोज्नु गम्भीर भूल भएको टिप्पणी गरेको छ । मोर्चाले सेना परिचालन गर्ने निर्णयले बृहत् शान्ति सम्झौताको साथै अन्तरिम संविधान १४५ (५) को समेत गम्भीर उल्लङ्घन गरेको पनि जनाएको छ ।

नेपाली सेनाको परिचालन, राजनीतिक र प्रशासनिक नेतृत्वको कमाण्डविना स्वयम् नेपाली सेनाको नेतृत्वमा असीमित क्षेत्राधिकारसहित राज्यका सबै सुरक्षा निकायहरुबीच एकीकृत रुपमा परिचालन गर्ने सरकारी निर्णयबाट प्रकारान्तरले प्राप्त सीमित लोकतन्त्रलाई पनि विस्थापित गरेर जङ्गी शासनतर्फ लम्किरहेको पनि भन्न नसकिने ३३ दलको ठहर छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।