काठमाडौं । चर्चा र विवादको शिखरमा रहेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता सम्बन्धी विषय मन्त्रीपरिषदमा छलफल हुन पाएन । सरकारले जारी गरेको अध्यादेशका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत सबै राजनीतिक दल, संविधानविद् लगायतले विरोध गर्दै आएका छन् ।

अध्यादेश जारी भएलगत्तै नेकपाकै ८३ जना सांसदहरुले विशेष अधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान संकलन गरेर बुधबार राष्ट्रपति समक्ष बुझाउने प्रयास समेत गरेका थिए । बुधबार नै बसेको नेकपा सचिवालय बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा जारी अध्यादेश फिर्ता लिने र अधिवेशन बोलाउन माग गरिएको हस्ताक्षर राष्ट्रपति समक्ष नबुझाउने सहमति भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रीपरिषद बैठकमा भने अध्यादेश फिर्ता सम्बन्धी कुनै छलफल समेत नभएको हो । एक मन्त्रीले प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता सम्बन्धी कुनै जानकारी गराएनन् भने बैठकमा अध्यादेशको विषयमा चर्चा समेत नभएको जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।