जताततै फैलदैं नयाँ कोरोना भाइरस, अमेरिका पनि देखियो

काठमाडौं । नयाँ प्रकारको कोरोना भाइरस विश्वका अधिकांश देशमा फैलने खतरा बढेर गएको छ । पछिल्लो पटक अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको पुष्टि भएको हो । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको बीबीसीले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ ।

बेलायतमा पहिलो पटक देखिएको कारोना भाइरसको नयाँ प्रकार विश्वभर फैलने क्रम जारी छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार उक्त भाइरस हालसम्म अमेरिका, डेनमार्क, नेदरल्यान्ड्स, अस्ट्रेलिया, स्विडेन, स्विट्जरल्यान्ड, जर्मनी, क्यानडा, जापान, फ्रान्स, लेबनान, सिंगापुर, दक्षिण कोरिया, भारत, पाकिस्तानलगायत देशमा पुष्टि भइसकेको छ ।

कोभिड–१९ को तुलनामा नयाँ भाइरसले युवाहरूलाई बढी प्रभावित पारेको देखिएको डब्लूएचओले जनाएको छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरूलाई कडाइका साथ अवलम्बन गर्न अत्यावश्यक भएको संगठनको भनाइ छ । बेलायती वैज्ञानिकहरूले गरेको अध्ययनमा नयाँ कोरोना भाइरस पहिले देखिएको भाइरसको तुलनामा ७० प्रतिशतभन्दा बढी छिटो सर्ने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।