सत्य र न्यायका लागि नेपाली एक जुट हुनुपर्छः पूर्वप्रम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताएका छन् । जसपाद्वारा आज यहाँ आयोजित जनप्रदर्शन तथा विरोधसभामा उनले भने, “जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने हाम्रो दायित्व हो ।” उनले संविधानको प्रभूत्तालाई रक्षा गर्न जनसङ्घर्षको आवश्यकता आइपरेको भन्दै भूमिहीन किसानले भूमि पाउनुपर्ने, किसानले समयमै मल पाउनुपर्ने र महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए ।

डा भट्टराईले भ्रष्टाचारालाई निवारण गर्ने कार्यमा सरकार असफल भएको आरोप लगाउँदै मुलुकबाट गरिबी हटाउन बन्द उद्योग पुनःसञ्चालन हुनुपर्ने बताए । उनले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सुरक्षा, राष्ट्रिय एकता र सुशासनप्रति अडिग रहनुपर्नेमा जोड दिए ।
सोही पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समस्याको निकास राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै जनताका अधिकार खोसिएकाले अदालतमा गएको धारणा व्यक्त गरे । उनले जनविद्रोह र जनसङ्घर्षका लागि आमसमुदायलाई तयार रहन आग्रह गर्दै काम चलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्नु उपयुक्त नभएको बताए । अध्यक्ष यादवले सरकारले राजनीतिक दललाई कमजोर पारेको, संवैधानिक अङ्गमा कब्जा जमाएको आरोप लगाउँदै शिक्षा, स्वास्थ्यमा सुधार नगरेको पनि बताए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला