नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन केपी शर्मा ओली नेतृत्वको सरकारको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम भन्दै त्यसका विरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोध गरेपनि पुनस्र्थापनाको माग गरेको थिएन । अब भने पुनस्र्थापनाको मागसहित आन्दोलनमा होमिने भएको हो ।

कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने निर्णय गरेको छ । यसैगरी आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रबाट तोकिएका कार्यक्रमबाहेक जिल्ला कार्यसमितिलगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम तय गरी सञ्चालन गर्ने उहाँले बताउनुभयो । कांग्रेसले यसअघि संसद् विघटनविरुद्ध गत पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते ७५३ पालिकामा र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ ।

संसद् विघटनविरुद्ध यही माघ १२ गते राजधानीमा समाजका विभिन्न क्षेत्रका नागरिकले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कांग्रेसले शान्तिपूर्णरुपमा गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्यास तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।