असोज ५, काठमाडौं । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले नेपाल सरकारले निर्वाचनमा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयको विरोध गरेको छ ।

राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा दुरुपयोग गर्न खोज्नु भनेको वृहत शान्ति सम्झौताको गम्भीर उल्लङ्घन भएको र युद्धको घोषणा गरी द्वन्द्व निम्त्याउनु पनि भएको भन्दै निर्णय अविलम्ब बदर गर्न मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङले माग गरेका छन् ।

३३ दलले घोषित ९ र १० गतेको नेपाल बन्द फिर्ता लिने निर्णय पनि गरेको छ ।

निर्वाचन कार्यतालिका प्रभावित हुने गरी आह्वान गरिएको बन्दको दिनको कार्यातालिका सरकारले एकसाता पछि सारेपछि शनिबार राजधानीमा बैठक बसेर मोर्चाले तत्कालका लागि बन्द स्थगन गर्ने निर्णय गरेको हो । निर्वाचन कार्यतालिका प्रभावित गर्नकै लागि बन्द गरिएकाले मिति नै सरेपछि त्यसको औचित्य नरहेको भन्दै मोर्चाले बन्द फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले हालै मोर्चाले बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा भारतीय प्रहरी प्रवेश गरी नेपालीको घरमा खानतलाशी गरेको घटनाको पनि विरोध गरेको छ । त्यस्तै यही असोज ३ गते अमेरिकी वायुसेनाको विमान नेपालको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरी ३ घण्टासम्म गोप्य सामानहरु झारेको घटनाबारे पनि मोर्चाको ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकपछि जारी गरिएको विज्ञप्ति यस्तो छ :

आज मिति २०७० असोज ५ गते ३३ दलीय मोर्चाको बैठक नेकपा–माओवादीको कार्यालय, बुद्धनगरमा बसी निम्न निर्णयहरु गरिएको छ । 


१. यही असोज ७ गते दिउँसो १:०० बजे काठमाडौंको खुला मञ्चमा हुने विरोध सभालाई भव्यताकासाथ सम्पन्न गर्ने । 
२. यही
असोज ९ र १० गते नेपाल बन्दको आयोजना गरिएकोमा हालको लागि स्थगन गरिएको छ ।
आन्दोलनका थप कार्यक्रमहरु मोर्चाको अर्को बैठक बसी निश्चित गर्ने ।


३. हालै नेपाल सरकारले
निर्वाचनमा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयको विरोध गर्ने र
राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो
नितान्त आन्तरिक मामिलामा दुरुपयोग गर्न खोज्नु भनेको वृहत शान्ति
सम्झौताको गम्भीर उल्लङ्घन हो र युद्धको घोषणा गरी द्वन्द्व निम्त्याउनु
पनि हो । अतः उक्त निर्णय अविलम्ब बदर गर्न माग गर्ने । 


४. भारतीय
सुरक्षाकर्मीद्वारा २ जना भारतीयहरुलाई नेपाली भूमिबाट गिरफ्तार गरेको घटना
सेलाउन नपाउँदै यही असोज २ गते बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा
भारतीय प्रहरी प्रवेश गरी नेपालीको घरमा खानतलाशी गरेको छ । यसरी नेपालको
सार्वभौम अधिकारमाथि पटक–पटक गरिएको हस्तक्षेपको विरोध गर्नेे । 


५. यही असोज ३ गते अमेरिकी
वायुसेनाको विमान नेपालको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरी ३
घण्टासम्म गोप्य सामानहरु झारेको घटनाबारे हाम्रो मोर्चाको ध्यानाकर्षण
भएको छ । नेपालको भूमिमा अमेरिकी सेनाको विमान अवतरण गरिनु र गोप्य
सामानहरु झारिनु रहस्यमय बनेको छ । गैरफौजी कुटनीतिक सामानहरु थिए भने
सैन्य विमान किन प्रयोग गरियो ? अतः उक्त घटनाको विरोध गर्दै रहस्यमय
सामानहरु बारे सार्वजनिक रुपमा सुसूचित गराउन सरकारसँग माग गर्ने ।



मिति : २०७० असोज ५
देव गुरुङ
३३ दलीय राजनीतिक मोर्चा
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।