Thursday, September 24, 2026
19.1 C
Kathmandu
Home मुख्य समाचार जलवायु परिवर्तनको जानकारी दिन जलवायु कचहरी

जलवायु परिवर्तनको जानकारी दिन जलवायु कचहरी

हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थानशील र समावेशी अभ्यासको विकास परियोजनाअन्तर्गत सर्केगाड–८ राहदेव गाउँमा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग, किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण र वडा कार्यालयको समन्वयमा जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको तल्लो क्षेत्र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट उच्च जोखिममा रहेकाले विभिन्न समयमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गरिँदै आएको बताइएको छ । जलवायु परिवर्तनका असरबाट पछिल्लो समय हुम्लामा हिमपात तथा वर्षा अनियमित हुने गरेको छ ।

वडा आठका महिला, पुरुष तथा बालबालिका उपस्थितमा जलवायु कार्यक्रममा जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकूल मौसम जस्ता प्राकृतिक प्रकोप आइपरेको जानकारी गराइएको किडार्क नेपालका सामुदायिक सहजकर्ता पवित्रा देवकोटाले जानकारी दिइन् । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भए पनि विपद्को अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई धेरै जोखिम हुने गरेको सहजकर्ता उनले जानकारी दिइन् ।

यस्ता प्रकोपले बालबालिकालाई शारीरिक र मानसिक असर गर्नुका साथै वयस्कमा भन्दा उनीहरुमा उक्त असर लामो समयसम्म रहने उनको भनाइ थियो । जलवायु परिवर्तनले सर्वव्यापी चुनौती खडा गर्ने भए पनि यसको सामना गर्नका लागि बालबालिका र जोखिममा रहेका परिवार तथा समुदायमाथि विशेष ध्यान दिन जरुरी रहेको उनले बताइन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।