असोज ४  ।(रासस)सरकारले आगामी मङ्सिर ४ गतेको संविधानसभा निर्वाचन प्रक्रियामा सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्वाचनबाट नै मुलुकको सबै समस्याको समाधान हुने भन्दै उक्त अग्रह गरेको हो ।

निर्वाचनले नेपाली जनताले अपेक्षा गरेको नयाँ संविधान निर्माणको ढोका खोलिने हुँदा उपलब्ध अवसरलाई सदुपयोग गर्नका लागि चुनावमा भाग लिन सबै पक्षलाई  आह्वान गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।
सञ्चारमन्त्री पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वासनीय ढङ्गबाट सम्पन्न गराउन  सरकार प्रतिबद्ध रहेको पनि बताए ।  लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएकोमा दुई मत हुन सक्दैन भन्दै  आह्वानपत्रमा उल्लेख गरिएको छ, “निर्वाचनबाट मात्र मुलुकले राजनीतिक निकास पाउने हुँदा संविधानसभाको निर्वाचनमा मुलुकका बढीभन्दा बढी दलहरुको सहभागिता होस् भन्ने नेपाल सरकारको अपेक्षा छ ।”

अझै पनि केही राजनीतिक दलले निर्वाचनको प्रक्रियामा विमति जनाएको विषयलाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै  मन्त्री पौडेलले मुलुकका सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन भगीरथ प्रयत्न गरिरहेको पत्रकारहरुलाई जानकारी दिए ।

नेपाली जनताले आफ्ना लागि आफैँ संविधान बनाउनका लागि स्वतन्त्र, भयमुक्त र विश्वसनीय वातावरणमा संविधानसभाको निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारलाई सुनिश्चित गर्न नै संविधानसभाको अर्को निर्वाचन हुन लागेको  प्रसङ्ग पनि सरकारले उल्लेख गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।