असोज ४ ।  (रासस)सर्वसाधारण उपभोक्तालाई लक्षित गरी दसैँका लागि खाद्य वस्तु बेच्न सरकारी तहबाट सञ्चालन गरिएको सुपथ मूल्य पसलमा किन्नेभन्दा पनि भाउ सोध्ने र हेर्ने उत्सुक उपभोक्ताको भीड बढ्न थालेको छ।
 
सरकारले बिहीबारदेखि उपत्यकाका आठ स्थानमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमध्ये ललितपुर जिल्लाको जावलाखेलमा रहेको सुपथ पसलमा के के राखिएको छ, अन्यत्रको तुलनामा सस्तो पर्छ कि पर्दैन भन्ने बुझ्न आउने उपभोक्ता बढी पाइएको व्यवस्थापक सञ्जय जोशीले बताए।
 
सुपथ मूल्य पसलमा साँच्चै सस्तो भाउ छ कि छैन भनेर बुझ्न आएको ललितपुर टीकाथली गाविस–८ की सुजन घिमिरेले बताइन्। उनले भनिन्, “किन्नै पर्दा त परिवारलाई ल्याएर आइन्थ्यो।” भाउ बुझ्नेहरुमा प्रायः पुरुष रहेका छन्। भर्खर सञ्चालनमा आएकाले व्यवस्थापन गर्न पनि बाँकी छ, ग्राहक बिस्तारै बढ्ने व्यवस्थापक जोशीले आशा व्यक्त गरिन्। “अघिल्लो वर्षतिर पनि सुरुसुरुमा सोध्ने मात्रै आउँथे, पसल सुरु भएको १०–१५ दिनदेखि उभिएर कुरा गर्ने फुर्सद हुदैन”–उनले सुनाइन्।
 
सुपथ मूल्य पसलमा नुन, चिनी, दाल, चामल, मसला, तेल, घ्यू, डाल्डा, पीठो, दूध लगायतका खाद्य वस्तु के कतिमा बिक्री गरिन्छ भन्ने दरभाउ सबैले देख्ने गरी टाँसिएकाले बिक्रेतालाई सोध्नभन्दा सूची हेरेर नोट गरेको देखिन्थ्यो भने खाद्य वस्तु किनेर लैजानेलाई कपडाको झोलामा दिइएको देखिन्थ्यो। 
 
जाउलाखेल चोकमै रहेको ललितपुर उपमहानगरपालिका–४ को कार्यालयमा रहेको सुपथ मूल्य पसलले बजारमा प्रतिकेजी ७२ रुपैयाँ पर्ने चिनी ६६ रुपैयाँमा र १५ रुपैयाँ पर्ने आयोडिन नुन प्रतिकेजी १३ रुपैयाँमा बिक्री गरिरहेको छ। 
 
बजार भाउभन्दा केही सस्तो भए पनि बिहान झन्डै ११ बजेतिर मात्र खुल्ने र साँझ साढे ४ बजे नै बन्द हुने भएकाले कामकाजीका लागि सहज नभएको नेपाल टेलिकमका सहायक प्राविधिक सञ्चिता मानन्धरले बताइन्।
 
सरकारी स्वामित्वका नेपाल खाद्य संस्थान, साल्ट टे्रडिङ, दुग्ध विकास संस्थान, नेसनल ट्रेडिङ लिमिटेडका उत्पादन राखिएका सुपथ मूल्य पसल अहिलेदेखि छठ पर्वसम्म झन्डै दुई महिना सञ्चालनमा आउने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलेले जानकारी दिए
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।