१९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर

काठमाडौं । नेपालमा १९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर रहेको एक अध्ययनले देखाएको छ । कोभिड–१९ को महामारीले विद्यालयका पारेको प्रभाव विषयक एक अध्ययनले बन्दाबन्दीको समयमा ७४ प्रतिशत विद्यार्थीले मोबाईल मार्फत अध्ययन गरेको पाइएको छ ।
कोरोना महामारीले नेपालको शिक्षामा पारेको असर सम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धान अनुसार नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेका छन् ।
लामो समयसम्म विद्यालय बन्द हुदाँ वैकल्पिक माध्यमबाट पठन पाठन गरिए पनि प्राविधिक उपकरण र ईन्टरनेटको पहुँच बाहिर रहेका बालबालिकाहरुको शिक्षामा भने ठुलो असर परेको अध्ययनले देखाएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव डा. हरि प्रसाद लम्सालले कोभिड महामारी पश्चात नेपालको शिक्षामा परेको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने र स्थानिय निकायलाई समेत विद्यालय शिक्षा सुधारको लागि निर्देशन दिने प्रतिवद्धता जनाएका छन् ।
लू निभाः बाल सरोकार समुहकी अध्यक्ष रुपा मुनाकर्मीले नेपालमा कोभिडका कारणले विद्यालय स्तरमा शिक्षण शिकाई बन्द भएपश्चात प्रविधिको प्रयोगमा वृद्धि भएपनि अध्ययन अध्यापन प्रभावकारी नभएको बताएकी छिन् ।
लू निभाः बाल सरोकार समुहका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले बालबालिकाको शिक्षाको अधिकारलाई सुनिश्चित गर्नको लागि नेपालमा कोभिडले शिक्षा क्षेत्रमा पारेको असरका विषयमा अनुसन्धान गरिएको र विज्ञहरुले दिएको सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने जनाएका छन् । लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानमा कक्षा १ देखि ११ सम्मका करिब ५०० जना विद्यार्थिले सर्वेक्षणमा सहभागिता रहेको जनाइएको छ ।