काठमाडाैं । कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल पठाउन थालिएको छ । काठमाडौँमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो । काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो ।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए । झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौँमा बस्दै आएका थिए । उनलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए ।

बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ । अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए ।

“राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ”, गिरीले भने, “बीएन्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याएका छौँ । काठमाडौँबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहनु भएको छ ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।