गत वर्ष जेठ ३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो। मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको विवरण अद्यावधिक गर्दै सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको थियो। त्यो दिन नेपालमा पुष्टि भएको सङ्क्रमण सङ्ख्या २८१ थियो।
पहिलो मृत्युको ठिक एक वर्ष पुगेकै दिन जेठ २ गते आइतवार मन्त्रालयले नेपालमा कोभिड-१९ बाट मृत्यु भएकाको सङ्ख्या ५,००० नाघेको विवरण सार्वजनिक गर्यो। आइतवारसम्म सङ्क्रमण पुष्टि भएकाको कुल सङ्ख्या चार लाख ५५ हजार थियो। सङ्क्रमितमध्ये ज्यान गुमाउनेहरू १.१० प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
कुन उमेरका कति जनाको मृत्यु?
पाँच हजार मृतकमध्ये नेपालमा मृत्यु भएकाहरूमा सबैभन्दा बढी सङ्ख्या ५० देखि ७९ वर्षका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी ५८० जना ७० देखि ७४ वर्षका व्यक्ति छन् भने, ६५ देखि ६९ वर्षका ५३६ एवम् ६० देखि ६४ वर्षका ५२६ जना छन्।
पचास देखि ५४ वर्षका ४३९, ५५ देखि ५९ वर्षका ४७३ र ७५ देखि ७९ वर्यका ४७९ जनाको मृत्यु भएको छ। उन्नाइस वर्षभन्दा मुनिका ५६ जनाको मृत्यु भएको छ जुनमध्ये २० जना चार वर्षसम्मका बालबालिका छन्। तीमध्ये नौ जना एक वर्षभन्दा कम उमेरका शिशु छन्।
सय वर्षभन्दा माथिका छ जनाको मृत्यु भएको छ। कोरोनाभाइरसका कारण मृत्यु हुने सबैभन्दा जेठो व्यक्ति चितवनका १०८ वर्षीया महिला हुन्। उनले गत साल भदौमा मृत्यु भएको थियो।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यो पटक २० देखि ५४ वर्षको उमेर समूहमै सङ्क्रमण बढी देखिएको र मृत्यु पनि त्यही उमेरमै देखिएको बताए। तर महिलाको मृत्युको दर भने गत वर्षको भन्दा यो वर्ष बढी भएको उनको भनाइ छ।
मृत्यु बढ्नुका तीन कारण
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी यसरी मृत्युको सङ्ख्या बढ्नुको पछाडि तीन वटा कारण रहेको बताउँछन्। ती कारणहरूमा पहिलो भाइरसले फोक्सोमा धेरै असर गरेपछि मात्रै अस्पताल जानु, समयमा अक्सिजन नपाउनु र अस्पतालमा उनीहरूलाई देखिएका अन्य सङ्क्रमणको परीक्षण नहुनु भएको उनी बताउँछन्।
उनले भने, “सास फेर्न गाह्रो नभएसम्म अस्पताल नआउनु भनिएको छ। उनीहरू घरमा हुँदा स्वास्थ्य अवस्था कस्तो भनेर सोध्ने र परामर्श दिने निकाय छैन। निकै गाह्रो भए पछि अस्पताल आउने गरेका छन् र उनीहरूको अन्य रोगका कारणले पनि सङ्क्रमण बढेको हो कि भनेर जाँच पनि हुँदैन। पछिल्ला दिनमा त अस्पतालमा गएर पनि कतिले अक्सिजन नै पाएनन्।” डा. मरासिनी सङ्क्रमणको पुष्टि भएकाले एक हप्ताको अन्तरमा दुई पटक फोक्सोको एक्स-रे गर्नु पर्ने र उनीहरू घरमै हुँदा पनि दैनिक रूपमा स्वास्थ्य अवस्थाको जानकारी लिने स्वास्थ्यकर्मी सहितको संयन्त्र बनाउनुपर्ने बताउँछन्।
यो मौसम स्क्रब टाइफस, डेङ्गीजस्ता अन्य रोग पनि लाग्ने र त्यस्ता व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पनि देखिएमा गाह्रो हुने भएकाले सङ्क्रमितको त्यसको पनि परीक्षण गरेर त्यसको पनि उपचार आवश्यक पर्ने डा. मरासिनीले बताए। बिबिसी नेपालीबाट साभार