पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा सात हजार २१९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा देशभर पाँच हजार ३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए । पिसिआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमूना पिसिआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यसअवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको उनले सुनाए । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ । काठमाडौँ उपत्यकामा आजमात्र एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।