काठमाडौं । नेपाल आयल निगमले हालै मात्रै इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम लागू गरेको छ । आपूर्ति र वितरण प्रणालीलाई सुधार गर्ने उद्देश्यसहित निगमले करिब एक वर्षको तयारीपछि उक्त प्रणाली लागु भएको हो ।
ईआरपी लागू भएसँगै निगमका सम्पूर्ण कार्यहरु डिजिटलाइज भएका छन् । ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुने निगमले जनाएको छ । ईआरपी सिस्टम लागू भएसगैँ इन्धनको बिलिङ सुरु भएको छ । अब निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत् निगमलाई अनलाइन भुक्तानी गर्न सक्ने छन्।
निगमका अनुसार ईआरपीको माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोडिएका छन् । पुरानो सफ्टवेयर अन्तर्गत व्यवसायीले बिहान इन्धनको माग टिपाउने, त्यसबापतको रकम बैंकमा जम्मा गरी बैंक भौचर निगममा बुझाएपछि मात्रै इन्धन लोड गर्ने गरिएको थियो । तर, नयाँ प्रणाली अपनाउँदा आर्थिक कारोबार फोनबाटै अनलाइनमार्फत गर्न सकिनेछ । एक क्लिकमा देशभरको तथ्यांक हेर्न सकिने निगमको दाबी छ ।
इलकिङ र जीपीएस प्रणाली नहुँदा ट्यांकरबाट इन्धन चोरी हुने क्रम रोकिएको छैन । त्यसलाई नियन्त्रण गर्न समेत उक्त प्रणाली अति आवश्यक रहेको निगमले जनाएको छ ।