भदौ २३ । गत वर्षहरुमा तीज आउनु महिना दिन अगाडी देखि नै दर खाने गरिन्थ्यो । महिना दिन अघिदेखि नै राता कपडामा शहर रंगिने गर्दथ्यो । तर यस वर्ष त्यो निक्कै कम देखियो ।

यति मात्रै होइन, तीजको ब्रत बस्ने दिन आज पशुपति परिसरमा निक्कै लामै लाइन हुने गर्दथ्यो । तर यस वर्षको बिहानीको लाइन पनि कमै हो कि जस्तो थियो । एक त त्यहाँको व्यवस्थापनका कारण कम समयमै भक्तजनहरुलाई पशुपतिको दर्शन गराउने व्यवस्था गराइएकाले पनि लाइन गत वर्षको तुलनामा कम लागेको बताइन्छ ।

जे होस्, यस वर्ष पनि सदा झैँ पशुपतिनाथ क्षेत्रमा महिला दर्शनार्थीको घुईंचो उस्तै छ ।
तीजको अवसरमा रातो साडीमा दर्शन गर्न पुगेका महिलाहरु नाचगान र भजन कीर्तनमा व्यस्त छन् ।

लाइन व्यवस्थित बनाइएकाले आधा घण्टादेखि ४५ मिनेटभित्र मन्दिरको दर्शन गर्न सकिने पशुपति विकास कोषले जनाएको छ ।
मन्दिर पुग्ने दर्शनार्थीहरुको सुरक्षाका लागि ५ हजार भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । भीडलाई व्यवस्थित गर्न ७० भन्दा धेरै संघ/संस्था, रेडक्रस र स्वंयसेविकाहरु पनि खटिएका छन् भने स्वास्थ्य शिविर पनि राखिएको कोषले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।