सुरेश बिडारी/पर्सा
भदौ २० । नेपालका ५ जना पूर्व प्रधानमन्त्रीहरुले नेपालको आर्थिक विकासका लागि १२ बुँदे वीरगञ्ज घोषणापत्र २०७० मा हस्ताक्षर गरेका छन् ।
आर्थिक क्रान्तिको मार्गचित्रः भिजन २०८०’ भन्ने मुल नाराका साथ विरगञ्जमा आज सम्पन्न ‘नेपाल लिडरसिप समिट’ मा सहभागी भएका नेपालका ५ जना पूर्व प्रधानमन्त्रीहरुले १२ बुँदे वीरगञ्ज घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्मेलनमा उनीहरुले ग्रेटर वीरगञ्जको अवधारणा, आर्थिक राजधानी बनाउने, विरगञ्ज पथलैया करिडोरलाई मापदण्ड सहितको औधोगिक क्षेत्र घोषणा गर्ने, मुलकको सर्वोपरी हित र विकास, विद्युत उत्पादन र सहज आपूर्तिमा देखिएको वाधा व्यवधान हटाई लोडसेडिङ मुक्त क्षेत्र बनाउने, विद्यमान असहज श्रम सम्बन्धलाई अन्त्य गरी औद्योगिक विकासका लागि श्रम शक्ती कायम गराउने, मुलुकको आर्थिक एजेन्डालाई आफ्नो पार्टीभित्र लोकतान्त्रिक विधि अनुरुप छलफलमा ल्याउने र त्यसको माध्यमबाट मुलुकमा साझा आर्थिक एजेन्डा निर्माणमा सबै पार्टीबीच साझा सहमति बनाउने लगायतका बुँदा समेटिएको १२ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजना तथा आर्थिक अभियान दैनिकको व्यवस्थापनमा भएको सम्मेलनमा विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैधले नेपालको विकास र समृद्धिका लागि जलविद्युत, पर्यटन, कृषि, खनिज, लगायतका क्षेत्रमा विकासका लागि राजनीतिक प्रतिवद्धताको आवश्यकता महशुस गरी सम्मेलनको आयोजना गरिएको बताए ।
उनले राजनैतिक अस्थिरताका कारण र लगानी वातावरण सम्बन्धी दीर्घकालिन आर्थिक नीति हुन नसक्दा लगानी बढ्न नसकेको भन्दै उनले पछिल्लो समयमा विदेशी लगानीकर्ता पनि फर्किएको बताए ।