भदौ १९ । जाजरकोट जिल्लामा सरसफाई सम्मेलन सुरु गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा बुधबार उद्घाटन भएको सरसफाई सम्मेलनले जिल्लालाई हत्केलामा जोख्न जिल्लाका सम्भावना र चुनौतीको अध्ययन गर्नु पर्ने बताएको छ । सम्मेलनको उद्घाटनमा यस्तो कुरा बताइएको हो ।
दुई दिनसम्म चल्ने जिल्ला स्तरिय बृहत सरसफाई सम्मेलनको उद्घाटनका क्रममा युनिसेफ प्रतिनीधि धुर्व कार्कीले सम्मेलनको पहिलो दिन सरसफाईमा जाजरकोटलाई लागेको रोग पत्ता लगाउन हत्केलामा जोख्नु पर्ने बताए ।
कार्कीले सम्मेलनको दोस्रो दिन रोगलाई सन्चो गर्ने औषधीका रुपमा गाविसका अगुवाहरु (सचिवहरु), जिल्लाका नायकहरु (कार्यालय प्रमुखहरु), जिल्लालाई सुष्मा दृष्टिवाट अध्ययन गर्ने पत्रकारहरु र जिल्लाको समग्र विकासका लागि ग्राफ कोर्ने राजनैतिक पार्टीका प्रमुखहरुले हस्ताक्षर गरेको प्रतिबद्धतामुलक सरसफाई घोषणा पत्र पास गर्ने पनि बताएका छन् ।
उक्त सम्मेलनको उद्घाटन शेसनको समापन गर्दै स्थानिय विकास अधिकारी चक्र बहादुर बुढाले हाल देशभर ९ वटा जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा भैसकेको हुदा देशकै पहिलो जिल्ला त हुना सकेनौं ता पनि आगामी माघ मसान्त सम्म खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखेर भेरी अञ्चलकै पहिलो जिल्ला बनाउनु पर्ने बताए ।
बुढाले हाल सम्म जाजरकोटका ३० वटा गाविस मध्ये ६ वटा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भैसकेको बताए । सम्मेलनको पहिलो दिन आज दिनभर ३० वटै गाविस सचिवहरुले गाविसमा सरसफाई सम्बन्धि कार्य प्रगतिको प्रस्तुतिकरण गर्ने कार्य तालिका रहेको सम्मेलन आयोजक समितिले बताएको छ ।