भदौ १८ । निर्वाचन हुने हो वा होइन भन्ने आशंका कायमै रहेका बेला आफ्ना उम्मेदवार छनौटतिर लागेका प्रमुख दलहरुभित्र आपसी झगडा सुरु भएको छ ।
यससँगै दलहरुभित्रको आन्तरिक विवाद अब चुलिने र त्यसले निर्वाचनमै प्रभाव पार्ने चर्चा पनि सुरु भएको छ । विवादको पहिलो सुरुवात उम्मेदवार सिफारिस जुटेको नेपाली कांग्रेसमा देखा परेको छ । त्यो पनि कांग्रेस भित्र सम्भावित युवा नेताका रुपमा चर्चा पाएका गगन थापाकै उम्मेदवारी सिफारिस विवादमा परेको हो । काठमाडौं क्षेत्र नम्बर– ४ बाट नाम सिफारिस गरिएका कांग्रेस केन्द्रीय सदस्य गगन थापाको उम्मेदवारी छनौटप्रति सोही क्षेत्रकै पूर्व सभाषद् सुप्रभा घिमिरेले विरोध जनाएकी छिन् ।
घिमिरेको विरोध पार्टीमा मात्र सीमित नभई पत्रकार सम्मेलनसम्मै पुगेको छ । उनले मंगलबार पत्रकार सम्मेलन गरी त्यसप्रति कडा विरोध सार्वजनिक गरेकी हुन् । उनले चार नम्बर क्षेत्रीय समितिले गरेको सिफारिस पुनविर्चार गर्न माग गरेकी छन् । आफू त्यही क्षेत्रको सभाषद् हुँदा पनि खबर नै नगरिएको भन्दै उनले यस्तो निर्णयले पार्टीमा ठूलो समस्या पैदा हुने बताइन ।
कांग्रेसको काठमाडौं चार नम्बर निर्वाचन क्षेत्रीय समितिले उक्त क्षेत्रबाट प्रत्यक्षका लागि केन्द्रीय सदस्य गगन थापा, चिरञ्जीवीनिधि तिवारी र न्युछेमान श्रेष्ठको नाम सिफारिस गरेको थियो । घिमिरेले भने क्षेत्रीय समितिको उक्त निर्णयका विरुद्ध सबै कार्यकर्ताहरुलाई उतार्ने चेतावनी पनि दिएकी छन् । क्षेत्रीय समितिले बैठक नै नबोलाएर घरघरमा गएर माइन्युटमा हस्ताक्षर गर्न दबाब दिएको आरोप उनको छ ।
घिमिरे उक्त क्षेत्रबाट २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित सभाष्द हुन् । एमाले नेतृ विद्या भण्डारीलाई तीन हजार ६ सय ४९ पचास मतले पराजित गरेकी घिमिरेले १३ हजार ४ सय ५१ मत प्राप्त गरेकी थिइन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।