विश्लेषण
भदौ । सरकारले मंसिर ४ का लागि दोस्रो संविधानसभाको निर्वाचन मिति घोषणा गरेपछि यो विषय आजका दिनसम्म पनि विवादमै छ ।
विवादकै भूमरीमा पहिलो संविधानसभा जिवित रहँदा तत्कालिन अवस्थामा ठूला देखिएका एमाओवादी, कांग्रेस तथा एमाले र मधेसवादी दलहरु सम्मिलित मोर्चा निर्वाचन गराउने भनेर लागिपरेका छन् ।
तर, यथास्थितिमा कुनै पनि हालतमा निर्वाचन गराउन नदिने घोषणा गरेको नेकपा माओवादी नेतृत्वको मोर्चा पनि चुनाव विफल गराउनका लागि सडकमै उत्रिएको छ ।
यहाँ अझ रमाइँलो कुरो त के छ भने, निर्वाचन मंसिरमै हुन्छ भन्ने दलहरु अहिलेसम्म जनताको घरदैलोमा पुगेका छैनन् । तर, विरोधमा रहेको नेकपा माओवादी भने घर दैलो, भित्ते लेखन तथा प्रचार प्रसार भ्याएर अर्को चरणको आन्दोलनको तयारीमा लागिसकेको छ ।
पहिलो चरणको घरदैलो कार्यक्रम अन्तर्गत माओवादीका कार्यकर्ता तथा नेताहरु रातो कपडामा राजधानीमा रंगिरहेका छन् । यतिसम्म कि, भोट माग्ने तथा चुनाव गराउँछु भन्नेहरुमाथि राता मान्छेहरु हाबी भएका छन् ।
तर, पनि चार राजनीतिक शक्ति भने दल भित्रकै विवादमा रुमल्लिदै नै भए पनि मंसिर ४ मा निर्वाचनको सपना बाढीरहेका छन् । गाउँ गाउँका माओवादीहरुले निर्वाचन बहिस्कार मात्रै नभएर ध्वस्तै पाछौँ भन्न थालेको र राजधानीमा पनि राता मान्छेहरु हाबी भएपछि सरकार भने झस्किएको छ ।
यस्तै अवस्थामा चुनाव गराउने हो भने सुरक्षा खतरा छ भन्दै राजनीतिक दलका नेताहरु सरकारलाई सेना परिचालन गर्न उक्साउन थालेका छन् ।
केही दिन अघि मात्रै सुरक्षा क्षेत्रका अगुवाहरुको बैठक बालुवाटारमा बसेको थियो । त्यतिबेला प्रहरीले आफूहरुले मात्रै कुनै पनि हालतमा निर्वाचनको सुरक्षा गर्न नसक्ने रिपोर्ट गरेका थिए । स्रोतका अनुसार प्रहरीले चुनावमा ब्याक फोर्सकै लागि भएपनि पहिलो घेरामा नभए दोस्रो घेरामा भएपनि सेना आवश्यक हुने बताएका थिए ।
यसले पनि विपक्षी दलहरु हाबी भएको देखाउँछ ।
यसो हुँदा निर्वाचन गराउने हो भने अब सेना परिचालनको विकल्प छैन भन्नेमा सरकार र चुनाव गराउने दलहरु पुगेका छन् । तर, सेना परिचालन गरेर गरिने निर्वाचनले निकास चाँही के देला भनेर प्रश्न चिह्न उठ्न जान्छ ।
त्यसो त, एमाओवादी भित्रै प्रचण्ड पक्ष जसरी पनि निर्वाचन गराउनु पर्छ भन्नेमा छन् भने बाबुराम पक्ष वैद्यहरुलाई पाखा लगाउन हुन्न भन्नेमै छन् । एमालेमा पनि झलनाथ खनाल भने वैद्यलाई पाखा लगाएरै चुनाव गराउनु पर्नेमा उभिए पनि बरिष्ठ नेता माधव नेपाल लगायत भने वैद्यलाई पाखा लगाए त्यसले अर्थ नराख्ने अडानमै छन् । कांग्रेस भित्र पनि उस्तै विवाद छ । सुजाता कोइराला लगायत काग्रेसका नेताहरु वैद्यलाई जसरी पनि समेट्नुपर्नेमै छन् ।
यसरी हेर्दा, सडकमा देखिएका राता मान्छेहरु यतिबेला सबैको केन्द्र बिन्दुमा छन् । अझ उनीहरु मंसिर ४ को निर्वाचन धकेलेमा र संविधानसभाको अन्तरवस्तुहरुको निक्र्यौल गरेर गरिने निर्वाचनमा आफूहरु पनि सहभागी हुने बताउँदै आएका छन् । यस्तो अवस्थामा सबै दल सम्मिलित भएर गरिने निर्वाचन भन्दा अर्को उत्तम विकल्प हुन सक्दैन ।
एकले अर्कालाई निषेध गरेर गरिने कुनै पनि कामले सकरात्मक बाटोलाई उल्टाई दिन पनि सक्छ । सरकारले सेना नै परिचालन गरेर भएपनि निर्वाचन गराउन सक्छ । तर त्यसले देशलाई कता लैजान्छ त्यो बुझ्नै पर्ने अहिले नेपाली राजनीतिमा देखिएको मुख्य विषय हो ।
बिरालोलाई झ्याल ढोका थुनेर कुटेमा त्यसले मान्छेमाथि नै जाईलाग्नु उसको एउटै मात्रै विकल्प रहन्छ । यतिबेला चुनावको पक्ष तथा विपक्षी दलले यसलाई राम्ररी बुझ्नुपर्ने हुन्छ । नत्र राता मान्छेहरु अगाडी बढ्लान् । प्रहरीले नसकेपछि ब्यारेकका सेनाहरुको बन्दुक तेर्सिएलान् । अनि समाचार दिनहुँ भन्नुपर्नेछ ‘यति मारिए, यति नै घाइते, अनि उति नै अपहरणमा परे । ‘ फेरि यी सबै  नेपाली ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।