भदौ १२ । बियरको बोतलले हानेर एक प्रधानाध्यापकले शिक्षकको आँखा फुटाएको खबर आजको राजधानी दैनिकले छापेको छ ।

सिन्धुली जिल्लाको जरायोटार गाविसको मझुवा उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कर्णबहादुर आलेमगरलाई निम्न माध्यमिक विद्यालय बगैंचाका शिक्षक वीरबहादुर पुलामीले बियरको बोतल प्रहार गरी बायाँ आँखा फुटाईदिएका हुन् ।

जरायोटार–३, मझुवा दोभानमा रहेको स्थानीय जेनी लजमा कोठाको विषयलाई लिएर भएको सामान्य विवादमा पुलामीले आलेमगरलाई बियरको बोतल प्रहार गरी सख्त घाइते बनाएको खबरमा उल्लेख गरिएको छ ।

गत शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठक सम्पन्न गरी समितिका अध्यक्ष गणेशबहादुर पुलामीलाई होटलमा बास बसाउन कोठा खोज्न गएका मगर होटलवालासँग कुरा गरिरहेको अवस्थामा आक्रमणमा परेका हुन् ।

घाइते शिक्षकको टाउकोमा पाँचओटा टाँका लगाइएको छ भने आँखाको नानीमा ६ दशमलव २ एमएम गहिरो प्वाल परेको छ । उनको हाल तिलगंगा आँखा अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

प्रअ पुलामी र घाइते शिक्षक मगरबीच सार्वजनिक जग्गाको विषयमा विगत लामो समयदेखि विवाद हुँदै आएको स्थानीय बासिन्दाको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।