अमेरिकाका विरुद्ध रुसले सिरिया विरुद्ध सैन्य बल प्रयोग भए गम्भीर परिणाम आउने चेतावनी दिएको हो ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता अलेक्जेण्डर लुकासेभिचले सिरिया विरुद्ध सैन्य बलको प्रयोग भए भयावह परिणाम आउने भन्दै अन्तराष्ट्रिय समूदायले विवेक अपाउनुपर्ने समय आएको बताएका छन् ।
अमेरिका र बेलायतले राष्ट्रसंघ सुरक्षा परिषदलाई बेवास्ता गरेर कदम चाल्न खोजेको भन्दै रुसले सिरियामाथिको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुने जनाएको छ ।
राष्ट्र संघ सुरक्षा परिषद्लाई उपेक्षा गर्नु सिरिया, मध्यपूर्व र उत्तर अफ्रिकी देशका लागि घातक र पीडादायी परिणाम हुने समेत रुसले जनाएको छ ।
यस विषयमा राष्ट्रसंघ सुरक्षा परिषदमा समेत विवाद उत्तिनै छ । रुस र चीन सिरियामाथि सैनिक हस्तक्षेपको विपक्षमा छन् भने अमेरिका, बेलायत र फ्रान्स सैनिक हस्तक्षेप गर्नुपर्ने पक्षमा उभिएका छन् ।



