भदौ ९ । नेताहरू अभिनय गर्न सिपालु हुन्छन् भन्ने आरोप लाग्दै आएको थियो। एमाले अध्यक्ष झलनाथ खनालले यसको पुष्टि गरिदिएका छन्। शुक्रबार उनले अभिनय गरेका छन्, जनतासामु होइन क्यामराको अगाडि, त्यो पनि निर्देशकको एक्सन र कटलाई पालन गर्दै थिए ।
गीत मातृभूमि नेपाल हाम्रोकै म्युजिक भिडियोमा पूर्वप्रधानमन्त्री खनालले अभिनय गरेका हुन्। उहाँको अभिनय हामीलाई मन पर्‍यो, भिडियो निर्देशक सुब्रत आचार्यले भने, टाइमिङ राम्रो रहेछ, एक्सन र कटको इशारा उहाँले सजिलै बुझ्नुभयो।
कस्तो सपना नामक एल्बममा सुन्न पाइने कृष्णभक्त राईको संगीत रहेको यस गीतलाई खनालकै गृहजिल्ला इलामका मोहन राईले गाएका छन्। गायक राईकै अनुरोध र पहलकदमीमा खनाललाई भिडियोमा समेट्न सकिएको निर्देशक आचार्यले जनाए। खनालकै डल्लुस्थित निवासमा भएको सुटिङ दुई घन्टामा सकिएको थियो। 
म्युजिक भिडियो र अभिनयबारे प्रश्न गर्दा नेता खनालले यसलाई त्यति ठूलो इस्यु नबनाउन आग्रह गरे। मैले गीत लेखेर दिएको थिएँ, पछि भिडियो पनि बनाउने कुरा भएछ, खनालले भने, मेरो अनुहार जसरी पनि समावेश गर्नुपर्छ भन्नुभयो, उहाँहरूको भावनाको कदर गरेर सुटिङमा सहभागी भएँ, खासमा मलाई रहर चाहिँ थिएन।
केही समयपछि मुख्य टेलिभिजनहरूमा रिलिज हुने भिडियोमा नेता खनालमात्र होइन, इलामस्थित उनको घर पनि अटाइनेछ। गायक मोहन राईले उनको घरअगाडि उभिएर गीत गाउँदै गरेको दृश्य भिडियोमा जोड्न लागेको निर्देशक आचार्यले सुनाए।
डल्लुको खनाल निवासमा भएको सबै सुटिङ कोठाभित्रै सकाइएको थियो। खनाललाई गीत लेख्दै गर्दाको मुद्रामा अभिनय गराइएको छ। दर्शकले भिडियो हेर्दा इलामको घरभित्र बसेर खनालले गीत लेख्दै गरेको बुझ्नसक्छ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा भुवन केसीको मुख्य अभिनय छ। दुई वर्षअघि टिका लगाएर एमालेमा प्रवेश गरेका भुवनले भिडियोमा अभिनय गर्न तुरुन्तै स्विकृति जनाएको निर्देशक आचार्यले बताए।
सीमान्त उदास, सुशील क्षेत्री, निश्मा घिमिरे, साइब्रत आचार्य, सन्तोष राईलगायतले पनि भिडियोमा खेलेका छन्। खनाललाई यी कलाकारसँग एउटै फ्रेममा भने देख्न पाइनेछैन। सुकिला भेषमा खनालले गीत लेख्दै चिन्तन गर्दै गरेका दृश्य भिडियोमा बीचबीचमा समावेश गर्ने योजना भिडियो निर्देशकको रहेको नागरीकमा खबर छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।