भदौ ९ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मङ्सिर ४ गते संविधानसभाको निर्वाचन हुन नसके देश दुर्घटनातर्फ धकेलिने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा–माओवादी नेतृत्वको मोर्चाले पूरा नहुने अनावश्यक माग राखेकै कारण सहमति हुन नसकेको बताए ।
उनले भने, “मोर्चाले पूरा गर्न नसक्ने माग राखेर वार्ताबाट सहमति खोज्न चाहेको छैन ।”
सरकार र चार दलीय संयन्त्र निकै लचक हुँदासमेत सहमति हुन नसकेको बताउँदै सभापति कोइरालाले गोलमेच सम्मेलनबाट समाधान निस्कन नसक्ने बताए ।
संविधानको अन्तर्वस्तु विवादको विषय नभएको बताउँदै उहाँले ६ महिनाभित्र मस्यौदा तयार गरी एक वर्षभित्र लोकतान्त्रिक संविधान बनाउन सकिने बताए ।
सबै तयारी पूरा भइसकेकाले चुनावको मिति सार्न नसकिने उनको भनाइ थियो । रासस