भदौ ८ । पछिल्लो पटक मोर्चाको मागप्रति चार दल सकरात्मक देखिएपछि निर्वाचनको वातावरण बन्दै गर्दा आज निर्णायक भनेर बसेको उच्चस्तरीय राजनीतिक समिति र ३३ दलिय मोर्चाबीचको वार्ता असफल भएको छ ।
यस अघिको वार्तामा दलहरु गोलमेच सम्मेलनका लागि सहमत भएको बताएका थिए ।
गोलमेच सम्मेलनमा के-के विषयमा र को-को बसेर छलफल गर्ने भन्ने विषयमा कुरा भएको थिएन । तर आज बसेको बैठकमा गोलमेच सम्मेलनमार्फत समाधान खोज्ने नेकपा माओवादी नेतृत्वको मोर्चाको प्रस्ताव उच्चस्तरीय राजनीतिक समितिले अस्वीकार गरेको छ ।
आफ्ना मागहरु अस्वीकार गरेपछि माओवादीको नेतृत्वमा रहेको मोर्चाले आन्दोलनमा जाने चेतावनी दिएको छ ।
आजको बैठकमा मोर्चाले सरकार फेर्ने र चुनाव सार्नेसहितको ५ बुँदे प्रस्ताव गरेकोमा समितिले अस्वीकार गरेको हो । वार्तामा मोर्चाले चुनावको मिति घोषणा र सरकार गठनबारे पनि गोलमेच सभामार्फत टुंगो लगाउने प्रस्ताव गरेको थियो ।
वार्तापछि नेकपा-माओवादीका सचिव देव गुरुङ्गले आफ्ना कुरामात्रै सही भन्ने गरी समितिले प्रस्ताव अस्वीकार गरेर गम्भीर भुल गरेको बताएका छन् । मोर्चाले अब वार्ताको औचित्य सकिएको भन्दै आन्दोलनबाटै माग पूरा गराउने चेतावनी समेत दिएको छ ।
निर्णायक भनेर बसेको आजको बैठकसँगै अब देश भिडन्त तर्फ उन्मुख हुने निश्चित बनेको छ ।
नेकपा माओवादीले यथास्थितिमा जसरी नि चुनाव भाड्ने नीति लिएको छ भने सरकार सेना परिचालन गरेर भए पनि निर्वाचन गराउने ध्याउन्नमा छ ।
यसो हुँदा देशमा आगामी दिनमा भिडन्त निश्चित छ ।
Comments







