पहिलो दिन नै कोरियाका लागि १७ हजार ८ सय २४ जनाद्धारा आवेदन

भदौ ५ । वैदेशिक रोजगारी अन्तर्गत कोरिया जान भाषा परीक्षाका लागि आजबाट खुलेको आवेदन फारमका लागि पहिलो दिन नै १७ हजार ८ सय २४ जनाले आवेदन दिएका छन् ।

सरकार मातहत इपिएस प्रणालीमार्फत दक्षिण कोरिया काम गर्न जानेहरु हिजैदेखि रातभर लाइन बसेर समेत आवेदन फाराम बुझाएका छन् ।

आवेदनका लागि देशका विभिन्न पाँच स्थानबाट फाराम बुझाउन सकिनेछ । आवेदन फारम चार दिनसम्म बुझाउन सकिने छ ।

तर, आज पहिलो दिन भने झण्डै १८ हजारले फाराम बुझाएका हुन् । त्यसमध्ये सबैभन्दा काठमाडौंको बनस्थलीमा ४ हजार १ सय २५ जनाले आवेदन दिएका छन् ।

 त्यस्तै, काठमाडौंकै गौचरनमा २ हजार ८ सय १९, कीर्तिपुरमा ४ हजार १ सय २५, बुटवलमा ३ हजार ८ सय ४४ र धरानबाट २ हजार ४ सय ७३ आवेदन परेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले काठमाडौं उपत्यकाभित्र तीन क्षेत्र र उपत्यका बाहिर धरान तथा बुटवलमा गरी देशमा पाँच स्थानबाट फारम वितरण र दर्ता गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

देशका पाँचै स्थानमा फाराम बुझाउनेहरुको भिडभाड ठूलो मात्रामा लागेको छ ।

यो पटक ७० हजारले आवेदन बुझाउन सक्ने अनुमान गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।