भदौ २ । सरकार र निर्वाचन प्रक्रियामा असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाबीच वार्ता हुँदैछ ।

आज दिउँसो हुने वार्तामा यसअघि भएको छलफललाई आधार बनाएर कुराकानी हुनेछ । यसअघि भएका २५ र ११ बुँदे सहमतिको संसोधन, समानुपातिक सिट संख्या लगायतका विषयमा आज वार्ता हुनेछ ।

राष्ट्रिय सहमतिका साथ चुनावमा जान सरकार सकारात्मक रहेकाले आज सहमतिको आधार खोजिने नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले बताए ।

उनले आफ्नो तर्फबाट राखेका मागहरुबारे आज सबै विषयमा छलफल हुने पनि बताए । नयाँ सरकार गठन र खिलराज रेग्मीको राजीनामा बारेको माग कायमै रहेको पनि उनले बताए ।

सम्झौतामा मुलुकलाई निकाश दिनुको विकल्प नभएको भन्दै गुरुङले सरकार राजनीतिक समितिसँगको वार्ताबाट निकास दिन तयार रहेको बताए ।

सरकारले भने रेग्मीको राजीनामा र चुनाव सार्ने वाहेकका विषयमा मात्रै वार्ता गर्ने बताइरहेको छ । सरकार र माओवादी मोर्चाबीचको वार्ता दिउँसो ३ बजे काठमाण्डुको बबरमहलमा रहेको शान्ति कोष सचिवालयमा हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।