साउन ३१ । करिब महिनादिनसम्म भारतमा उपचार गराउँदा समेत स्वास्थ्यमा सुधार नभए पछि नेपाल फिर्ता ल्याई नर्भिक हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन भएको छ ।
उनको बिहीबार बिहान ३ बजे थापाथलीस्थित नर्भिकमा निधन भएको अस्पतालले जनाएको छ ।
उनको पार्थिव शरीरलाई उनको आफ्नै निवास धापासी
लगेर राखिएपछि त्यहाँ श्रद्धाञ्जलीपछि बिहीबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित उनलाई उपचारको क्रममा भारतको हरियानास्थित मेदान्त मेडिसिटी अस्पतालमा झण्डै महिना दिनसम्म उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नआए पछि हस्पिटले नेपाल फिर्ता लैजान सुझाव दिएको थियो । त्यसपछि उनलाई मंगलबार राति एयर एम्बुलेन्समार्फत स्वदेश फर्काइएको थियो ।
सरकारले अन्य पूर्वप्रधानमन्त्रीहरुलाई उपचार खर्च उपलब्ध गराइउँदै आए पनि श्रेष्ठको स्वास्थ्य उपचारमा आर्थिक समस्या आएपछि सर्वसाधारणबाट चन्दा उठाउनु परेको थियो । आर्थिक सहयोगका लागि परिवारले पटक पटक सहयोग गर्न अपिल गरेका थिए । त्यसपछि देश तथा विदेशबाट उपचारका लागि केही रकम समेत जुटेको थियो ।
तर पछिल्लो पटक भने मन्त्रिपरिषदले उपचारका लागि पाँच लाख रुपैया दिने निर्णय गरेपनि सो रकम समेत उपलब्ध हुन सकेको छैन ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सम्मान मात्र दिने निर्णय गरेको थियो ।
राज्यले राजकीय सम्मान नदिएको भन्दै मृतक श्रेष्ठका आफन्त र शुभचिन्तकहरुले प्रहरीद्वारा दिन लागिएको सलामीसमेत बहिस्कार गरेका थिए ।
राजकीय सम्मान नदिए प्रहरीको सम्मान नदिने भन्दै उनीहरुले नाराबाजी गरेका थिए । त्यसपछि त्यहाँबाट प्रहरी फर्किएको थियो ।
सरकारले उनलाई राजकीय सम्मान नदिए पनि पूर्वप्रधानमन्त्री श्रेष्ठप्रति श्रद्धान्जली दिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, सूर्यबहादुर थापा लगायतका नेताहरु धापासी पुगेका थिए ।